८४ प्रतिशत  नागरिकका छोरा छोरी पढ्ने सामुदायिक विद्यालयहरुको वर्षेनी परिणाम खस्कदो अवस्था छ । सरकारी र सामुदायिक  विद्यालयहरुको  शिक्षण सिकाईको यो खस्कदो अवस्थालाइ समुदायको सहयोगमा  एकीकृत प्रयासका माध्यमबाट  सुधार गर्ने मुख्य उद्देश्यका साथ सुरुवातमा काभ्रेपलान्चोक  जिल्लाका  तिन  देउपुर र चार मण्डन अन्तर्गतका विद्यालय समेट्ने गरि यस संस्थाको स्थापना भएको हो |

शिक्षामा नयाँ नयाँ नितिका अभ्यास गरिए तर पनि ती प्रयासहरु पर्याप्त भएनन् । विद्यालय हाता सुरक्षित, सफा, आकर्षक बनाइएनन् । कक्षाकोठाको भौतिक तथा शैक्षिक ब्यवस्थापनलाई खासै महत्व दिइएन । शिक्षण योजना, शैक्षिक सामाग्री र विद्यार्थी केन्द्रित विधिलाई प्रयोगमा ल्याइएन । निजी विद्यालयले अंग्रेजी माध्यमबाट अभिभावकमा पारेको प्रभाव सामुदायिक विद्यालयले पार्न सकेनन् । पुस्तकालय, इ–लाइब्रेरी, कम्प्युटर सि.डी. जस्ता प्रविधिको प्रयोग विद्यालयमा गर्न सकिएन । मा.वि., उच्च मा.वि. मा computer science र science lab को ब्वस्था गर्न सकिएन । विद्यार्थीको रुची अनुसारको पढ्ने ब्यवस्था, खोज र अनुसन्धान गरी पढ्ने ब्यवस्था, प्रतिस्पधात्मक र सिर्जनशील भइ सिक्ने अवस्था र सीप हासिल गर्न सक्ने अवस्था सामुदायिक विद्यालयमा रहेन । शिक्षा सीपसँग, सीप रोजगरीसँग, रोजगारी उत्पादनसँग, उत्पादन बजारसँग र बजार गुणस्तरीय बस्तुसँग अन्तरसम्बन्धित हुन्छ । यसलाई पछ्याउन नसक्ने शिक्षाले देशलाई माथि उठाउन सक्दैन । अझै सम्म शिक्षालाई अनिवार्य, सर्वसुलभ गुणस्तरीय बनाउन सकिएको छैन । निजी विद्यालय र सामुदायिक विद्यालयले दुई भिन्न शिक्षा प्रदान गरिरहेका छन् । निजी विद्यालयले जस्तो सामुदायिक विद्यालयले आकर्षण र चासो वृद्धि गर्न सकेका छैनन् । यसको प्रमुख कारण सामुदायिक विद्यालयको खस्कँदो नतिजा हो । तथ्य आफैं बोल्छ भनेझैँ  तथ्याङ्क हेर्दा कक्षा १ मा भर्ना हुने १००विद्यार्थी मध्ये कक्षा ५ मा पुग्दा ३३ जना र कक्षा १० सम्म पुग्दा ६५ जनाले विद्यालय छोड्छन् र बाँकी मध्येमा पनि ४७ % विद्यार्थीहरु मात्र एस.एल.सी.मा सफल हुन्छन् ।

यस राष्ट्रिय तथ्यबाट  तीन देउपुर, चार  मण्डनका विद्यालयहरु पनि अछुतो छैनन् । यस अवस्थाबाट गुज्रिरहेको शिक्षालाई यस भेगमा माथि उठाउन हामीले सरकारको मात्र भर नपरी यहाँका शिक्षक, समाजसेवी र शिक्षाप्रेमीहरु मिली आपसमा नेटवर्कको मार्फत राम्रा अभ्यासको आदान प्रदान गरी विद्यालय शिक्षालाई गुणस्तरीय पार्न सहयोग प्रदान गर्ने हेतुले  २०६४ साल माघ १४ गते यस शैक्षिक नमुना ग्रामिण विकास केन्द्र नामक गैर सरकारी, गैर नाफा मुखि र गैरराजनैतिक संस्था स्थापना गरी क्रियाशिल रहेको छ ।

शिक्षामा सबैको पहुँच वृद्धि गर्ने, कृषि र स्वास्थ्यलाई शिक्षा सँगै अगाडि बढाउने, सूचना प्रविधिको पहुँच बढाई सोको माध्यमबाट गुणस्तरी शिक्षा प्रदान गर्ने, समुदायलाई खुल्ला विद्यालयको रुपमा चिनाउने जस्ता प्रमुख उद्देश्य लिई विगत ४ वर्ष देखि महादेवस्थान गा.वि.स. स्थित डेडीथुम्का उ.मा.वि. लाई केन्द्र र अरु ६ गा.वि.स.को उच्च विद्यालयलाई उपकेन्द्र बनाई क्रियाशिल रहेको छ । यस संस्थाले उद्देश्य अनुरुप शिक्षकहरुलाई तालिम र प्रोत्साहन प्रदान गर्ने, अभिभावक र विद्यालय ब्यबस्थापन समितिलाई सक्रिय पार्ने, विद्यार्थी विद्यार्थी बीच प्रतिस्पर्धा गराउने, विद्यालयहरु बीच सञ्जाल निर्माण गर्ने, विद्यार्थी नियमितता र उत्तीर्ण दरलाई वृद्धि गर्ने, शैक्षिक क्षति कम गर्ने, विद्यालयको प्रभावकारी ब्यवस्थापन गरी आकर्षण बढाउने, सूचना प्रविधिलाई शिक्षण सिकाईको साधन बनाउने र सबैको पहुचमा पुराउने जस्ता महत्वपूर्ण कार्य गर्दै आएको छ |

One thought on “